नुवाकोटको दुई फरक स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु

नुवाकोट - बुधबार साँझ नुवाकोटको दुई फरक फरक स्थानमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। किस्पाङ गाउँपालिका र लिखु गाउँपालिकामा भएका दुई सडक दुर्घटनामा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

छहरे-गंगटे सडकमार्ग भित्र पर्ने लिखु गाउँपालिका-३ मा बुधबार बेलुका भएको सडक दुर्घटनामा एक स्थानीयको मृत्यु भएको हो। अँध्यारोमा भएको उक्त दुर्घटनामा पैदल हिँडिरहेका ५५ वर्षीय स्थानीय रामशरण जर्घामगरलाई गाडीले ठक्कर दिएर भागेको सुचना स्थानीयबाट प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो। प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

यसै गरी किस्पाङ गाउँपालिका-५ मा बेलुकी टिपरले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ना३ख ८७०० नम्बरको टिपरले बा७१प ४६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किस्पाङ-५ मानेगाउँ बस्ने ३२ वर्षीय यमबहादुर तामाङको मृत्यु भएको हो। प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ भने त्यसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य सुरु भइसकेको प्रहरीले जानकारी दिएका छन्।

यी दुवै घटनाका मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। प्रहरीले यी दुवै घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×