काठमाडौँ - आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमणका लागि नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानले विदाई गरेको छ। नेपाली टोली भारत हुँदै नामिबिया जानेछ।
भारतमा नेपाली टोलीले १ साताको प्रशिक्षण गर्ने तालिका रहेको छ। नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जेनेरल म्यानेजर बृतान्त खनालले एक कार्यक्रमका बिचमा विदाई गरेका छन्।
यसअघि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। टोलीका अन्य सदस्यहरुमा आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहेका छन्। नन्दनले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्
यसअघि युएईसंगको ३ खेलको एकदिवसीय सिरिजमा स्थान बनाएका कमलसिंह ऐरी, भीम सार्की,आदिल आलम टोलीबाट बाहिरिएका छन्। आगामी डिसेम्बर २ देखि ८ सम्म सञ्चालन हुने सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड सहभागी हुनेछन्।
सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ। नेपालले २० खेलमा १७ अंक जोडेको छ। २२ खेलमा २६ अंक जोडेर नामिबिया पाँचौं र स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा छ।
लिगका सबै खेल खेलेको ओमान ४४ अंकसहित पहिलो स्थानमा रहेको छ।