काठमाडौँ - क्याटलान क्लब बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफा विश्वकप २०२२ कतारमा पोल्याण्डको राष्ट्रिय टोलीको कप्तानी गर्दा युक्रेनको रंग अंकित आर्मब्यान्ड लगाउने भएका छन्।
मंगलबार वार्सा राष्ट्रिय रंगशालामा युक्रेनका पूर्व स्टार एन्ड्री सेभचेन्कोसँग भेट गर्दै लेवान्डोस्कीले विश्वकपमा लगाउने आर्मब्यान्ड देखाइएको थियो। अब पोलिस कप्तान लेवान्डोस्कीले कप्तानी गर्दा पहेंलो र नीलो रङको आर्मब्यान्ड प्रयोग गर्नेछन्। सेभचेन्को हाल लौरिएसको राजदुत हुन्।
‘म विश्वकपमा युक्रेनी रंगहरू लगाउनेछु। एक खेलाडीको रूपमा म शान्तिलाई समर्थन गर्छु र मलाई लाग्छ कि यी प्रतिकात्मक इशाराहरू महत्त्वपूर्ण हुनेछन्,’ लेवान्डोस्कीले भने। रसियाको आक्रमणसँगै पोल्यान्ड र युक्रेनबीचको छनोट खेल स्थगित भएको थियो।
पोलिस फरवार्ड लेवानडोस्कीले यसअघि आफ्नो पूर्व क्लब बायर्न म्युनिखको कप्तानको भूमिकामा पनि युक्रेनी रंगको आर्मब्यान्ड लगाएका थिए। ‘मेरो लागि कप्तानको आर्मब्यान्ड तपाईंको देशको नेतृत्व, बल र जोसको प्रतीक हो। म यो आर्मब्यान्ड रोबर्टलाई उहाँको समर्थन, आवाज र मेरो देशलाई समर्थन गर्न र शान्तिको लागि आह्वान गर्ने मञ्चको लागि धन्यवाद दिन चाहन्छु,’ शेभचेन्कोले भने।
३४ वर्षीय लेवान्डोस्कीले पोल्यान्डका लागि १६३ खेलमा ७६ गोल गरेका छन्। लेवान्डोस्की पोल्यान्डको राष्ट्रिय टोलीबाट धेरै खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।
नोभेम्वर र डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप २०२२ मा पोल्यान्ड समूह ‘सी’ मा रहेको छ। यो समूहमा मेक्सिको, साउदी अरेबिया र अर्जेन्टिना रहेको छ। पोल्ल्यान्डले २२ नोभेम्वरमा मेक्सिको, २६ नोभेम्वरमा साउदी अरेबिया र ३० नोभेम्वरमा अर्जेन्टिनासँग खेल्नेछ।