काठमाडौँ - रुसमा एक विश्वविद्यालयकी विद्यार्थीलाई १० वर्षसम्मको सजाय हुने सम्भावना देखिएको छ। युक्रेन युद्धका समयमा आफूले पोष्ट गरेको इन्स्टाग्राम स्टोरीका कारण उनलाई यस्तो अवस्था आएको हो। ओलेस्या क्रिवटसोवा पछिल्ला केही दिनदेखि विश्वविद्यालय जान पाइरहेकी छैनन्। उनी घरमै नजरबन्दमा छिन्।
२० वर्षीया ओलेस्याको खुट्टामा इलेक्ट्रिक ट्याग लगाइएको छ र पुलिससँग उनीबारे पलपलको जानकारी छ। ओलेस्याको अपराध यो हो कि उनले युक्रेन–रुस युद्धको विरुद्धमा सोसल मिडियामा पोस्ट गरेकी थिइन्। यीमध्ये यो पोस्ट क्राइमियाको पुल उडाउनेसँग सम्बन्धित थियो।
ओलेस्याले भनिन्, ‘मैले इन्स्टाग्राममा पुलसँग सम्बन्धित स्टोरी पोस्ट गरेको थिएँ कि युक्रेनका जनता यसबाट कति दुःखी छन्। मैले मेरो साथीको युद्धसँग सम्बन्धित पोस्ट पनि सेयर गरेको थिएँ।’
ओलेस्या भन्छिन्, ‘यी पोस्ट पछि मेरी आमासँग फोनमा कुरा गर्दै थिएँ। त्यति नै बेला कसैले ढोका ढकढकायो। ढोका खोल्दा प्रहरी आयो। मेरो फोन खोसियो र मलाई भुईँमा पछारे।’
ओलेस्यामाथि आतङ्कवादको औचित्यलाई सही बताएको र रुसी सेनाको योगदानलाई अस्वीकार गरेको आरोप लगाइएको छ। यी आरोपका कारण, ओलेस्यालाई १० वर्षको लागि जेल हुनसक्छ।
ओलेस्यालाई अदालत आउन र घर जान मात्रै अनुमति छ। ओलेस्याले भनिन्, ‘सोसल मिडियाको एउटा पोस्टले यति लामो सजाय निम्त्याउन सक्छ भन्ने अनुमान पनि गरेको थिइनँ।’
ओलेस्याको हातमा पुटिनको ट्याटु पनि छ, जसमा लेखिएको छ – बिग ब्रदरले तपाईँलाई हेरिरहनुभएको छ।