काठमाडौँ। आजकाल बलिउडका कलाकारले नेपाली दर्शकलाई भिडियोमार्फत सम्बोधन गर्न सुरु गरेका छन्। जसमा उनीहरुले नेपालमा प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र हेर्न अनुरोध गर्ने गरेका छन्।
हालै अभिनेता अक्षय कुमारले पनि भिडियोमार्फत शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बच्चन पाण्डे’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन्। अक्षयले भनेका छन्– राम्रो व्यावसायिक फिल्म बनेको छ। तपाईंलाई मज्जा आउन सक्छ। साथी र परिवारसँग गएर फिल्म हेर्नुहोला।’
अक्षय, कृति सेनन, ज्याकलिन फर्नान्डेज र अरसद वारसी आदि कलाकारहरुको अभिनय रहेको छ। साजिद नाडियावालाको लेखन र निर्माण छ। सन् २०१४ मा आएको तमिल चलचित्र ‘जिगरठन्डा’को रिमेक भनिएको चलचित्र सन् २००६ को दक्षिण कोरियाली चलचित्र ‘अ डर्टी कार्निभल’बाट समेत प्रभावित रहेको बताइएको छ।
नेपालमा एबी इन्टरनेसनलले चलचित्रको वितरण गर्न लागेको हो।