काठमाडौँ - सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ। एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन।
पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुलमा पुग्न सकेको छैन।
पछिल्लो समयमा पत्र खाम बन्दी गरेर कार्यालय नजिक भए कर्मचारीले बुझाउन जाने र इमेलमार्फत पनि पत्राचार गर्ने प्रचलन आइसकेको छ। सरकारले डिजिटल नेपालको अवधारणाअनुसार कागज विहीन सरकारी कार्यालय बनाउने योजना अघि सारिरहेको बेला सिंहदरबारभित्रै आँगन जोडिएका भवनको चिठी यति ढिलासुस्ती होला भन्ने कसैले पनि अनुमान गर्न सक्दैन। गोरखापत्र दैनिकबाट