काठमाडौं । दुई भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।
यी दुई कम्पनीका ६ कर्मचारीलाई शुक्रबार पक्राउ गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनााई नियन्त्रणमा लिइएको एआइजी ज्ञवालीले बताइएको छ । पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।
उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अवैध सुन तस्करीको खरिद बिक्री कसरी भएको छ र त्यसको भुक्तिनी कसरी हुन्छ भन्नेबारे अनुसन्धान गर्दा यी दुई भुक्तानी सेवा प्रदाय तानिएको सीआईबीले जनाएको छ ।
अवैध कारोबारमा जोडिएपछि सीआईबीले केही दिनअघि मात्रै राष्ट्र बैंकलाई पत्र लेख्दै ‘पेवल नेपाल र सजिलो पे’ लाई रोक्का गर्न आग्रह गरेको थियो । सीआईबीको पत्रपछि राष्ट्र बैंकले सूचना जारी गर्दै २१ जेठमा यी दुई भुक्तानी कम्पीनीको बैंक खाता रोक्का गरेको थियो । थप अनुसन्धानका क्रममा ६ कर्मचारी पक्राउ परेको सीआईबीले जनाएको छ ।