काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले कुम्हाल समुदाय सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याइ छ।
वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ। “अब दिन कति बाँकी रहे र ?”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरीको भङ्गाहा नगरपालिका–५ भुचक्रपुरका सीताराम पण्डित कुम्हालले भेन, “दुई-चार मूर्तिमात्रै बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो, दिन घर्केपछि फेरि मूर्ति खोज्न त कोही आउँदैनन्, त्यसैले मूर्तिको काम चाँडै सक्नु परेको छ।”
यसपालि यही माघ २३ गते आइतबार श्रीपञ्चमी परेको छ। माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब पर्वविशेषमै आफ्नो पुख्र्यौली व्यवसाय सीमित भएको बताउँछन्। अहिले सरस्वती पूजनोत्सव नजिकिँदै गर्दा मूर्ति बनाउन लागिपरेको सीतारामको भनाइ छ। मिथिलामा श्रीपञ्चमी पर्वमा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्पराले यो बेला सरस्वतीका मूर्तिको माग उच्च गरेको छ। “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडबाड विशेषमा सीमित भएको छ,” उनले भने।
सरस्वती पूजनोत्सवमा एक महिनापहिले देखि नै कुम्हालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यस क्रमका काम हुन्छन्। सामान्यतः पूजनोत्सवमा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुन्छ। हिन्दू परम्परामा सबै शुभकार्यमा गणेशजीको अग्र पूजाको परम्पराले सरस्वती पूजनोत्सवमा पनि गणेशजीका मूर्तिको माग हुने गरेको महोत्तरीकै लोहारपट्टि नगरपालिका–४ पिपराढीका महादेव पण्डितले बताए।
यसपालि पर्वकै मुखमा कोरोना भाइरस सङ्क्रमणको सन्त्रास बढेको हुँदा सरस्वती पूजनोत्सवका समारोह पनि निकै कम आयोजना हुने देखिन्छ।