प्रीमियरमा फिल्म ‘मीलन’लाई सुखद प्रतिक्रिया

काठमाडौँ - यही मंसिर ९ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मीलन’ को प्रिमियर शो सम्पन्न भएको छ। कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रीमियर शोमा फिल्मले सुखद प्रतिक्रिया पाएको छ। फिल्म हेरेका अधिकांश फिल्मकर्मीले यसको कथावस्तु तथा कलाकारको अभिनयको प्रशंसा गरेका छन्।

टेक पौरखी राईको लेखन तथा निर्देशनमा बनेको ‘मीलन’ हेरिसकेपछि वरिष्ठ कलाकार नीर शाहले यो फिल्मले दर्शकको ध्यान तान्ने बताएका छन्। उनले फिल्मले दर्शकलाई हँसाउन पनि सक्ने र केही दृष्यले भावुक पनि बनाउने बताएका छन्।

‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ। हामीले फिल्मका प्रिमियर शोहरुलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौँ। त्यो खुसीको कुरा हो, शाहको भनाइ छ ‘नेपाली फिल्म क्षेत्र ठूलो बन्दै गएको छ। यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ।’

अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको फिल्म भित्रको पवित्र मित्रता एक युवतीका कारण कसरी बिग्रन्छ भन्ने कथा यसमा हेर्न पाइन्छ। प्रीमियरमा अभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको प्रशंसा गरिएको छ। साथै कलाकार सुमिन गुरुङले निर्वाह गरेको तेस्रो लिंगीको भूमिकाको चर्चा भएको छ।

फिल्मका निर्माता प्रविण थापाले प्रीमियर शोमा पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास व्यक्त गरेका छन्। उनले ‘मीलन’ले मल्टिप्लेक्स हलहरुमा उच्चतम शो पाउनेमा पनि विश्वास राखेका छन्। फिल्मका लेखक तथा निर्देशक टेक पौरखी राई आफ्नो लामो समयदेखिको मेहनतलाई अब दर्शकसमक्ष छाड्न लागेको भन्दै फिल्मले दर्शकको मन जित्नेमा ढुक्क देखिएका छन्। उनले प्रीमियर शोका क्रममा फिल्मले पाएको प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको बताएका छन्।

यो फिल्ममा शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतको पनि अभिनय छ। ३ वटा गीत समावेश यो फिल्ममा कबिराज गहतराजको कोरियोग्राफि छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर छ।संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् भने द्वन्द निर्देशन कुमार महर्जनको रहेको छ।

काठमाडौँ र कालिन्चोकमा छायांकन गरिएको यो फिल्मको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ। फिल्ममा भिएफएक्स टंक बहादुर राईको रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×