७ महिनामा सौगातका ७ फिल्म प्रदर्शन, दयाहाङसँग देखिएका फिल्म मात्रै सफल

काठमाडौँ - यो वर्ष सबैभन्दा बढी फिल्म प्रदर्शनमा आउने कलाकारमा अभिनेता सौगात मल्ल पर्छन्।

वैशाख १६ गते प्रदर्शनमा आएको ‘मन्त्र’ देखि कात्तिक १८ गते प्रदर्शनमा आएको ‘लाखे’ गरी पछिल्ला ७ महिनामा सौगातको अभिनय रहेका ७ फिल्म प्रदर्शनमा आएका छन्। तीमध्ये २ वटा फिल्म मात्रै व्यावसायिक रुपमा सफल भएका छन्।

‘मन्त्र’, ‘कबड्डी ४’, ‘घनचक्कर’, ‘माइकल अधिकारी’, ‘राधा’, ‘दुई नम्बरी’ र ‘लाखे’ क्रमशः वैशाख, जेठ, असार, भदौ, असोज र कात्तिकमा प्रदर्शन भएका फिल्म हुन्। तीमध्ये सिनेमा हलमा ५१ दिन मनाएको, नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइ गर्न सफल फिल्म ‘कबड्डी’देखि हलमा १ हप्ता पनि टिक्न नसकेको ‘घनचक्कर’सम्म छन्।

सौगातको अभिनयको सबैले तारिफ गर्ने गर्छन्। अभिनयकै कारण उनी अभिनीत फिल्म लगातार बक्स अफिसमा असफल रहँदा पनि उनलाई कामको कमी भने हुँदैन। पछिल्लो ७ महिनामा व्यावसायिक रुपमा सफल भएका उनका २ वटा फिल्म हुन्- ‘कबड्डी ४’ र ‘दुई नम्बरी’। जसमा सौगातसँगै अर्का अभिनेता दयाहाङ राईको पनि मुख्य भूमिका रहेको थियो।

व्यावसायिक सफलता पर्खिरहेका सौगातका लागि केही महिनामै २ वटा फिल्मले राम्रो मुनाफा कमाउनु सुखद कुरा हो। तर, सौगातले एक्लै लिड गरेका कुनै पनि फिल्म व्यावसायिक रुपमा असफल हुनु भने सुखद होइन।

उनको आगामी एक्सन फिल्म ‘एक्स ९’ निर्माणको तयारीमा छ भने ‘कबड्डी’ कै पात्र बमकाजीकाे कथालाई निरन्तरता दिने गरी ‘मास्टर बमकाजी’ पनि निर्माण हुने बताइएकाे छ। जसकाे निर्देशन रामबाबु गुरुङले नै गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×