झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गर्नुभयो। हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो।
भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उहाँले बताउनुभयो। रु १५ करोड ३४ हजारको लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौँले लिएको छ। भवन २०८१ फागुनभित्र निर्माण गरिसक्नुपर्ने छ। भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति हुनेछ।
नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठका अनुसार यहाँ यसअघि रु पाँच करोड ५० लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको थियो। नगर अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन्। यहाँबाट दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।
कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध
झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। यही जेठ १७ गते सम्पन्न २५औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो।
नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए।
“गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप देखिन थालेको छ”, उनले भने। कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री–वितरणमा निषेध लगाउन ऐक्यबद्धता जनाएका छन्। दलका प्रतिनिधिहरूले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन्।