काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्नेभन्दा सके संसद् नसके सडकबाटै आन्दोलनमार्फत जनदबाब बढाएर राजतन्त्र र हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने रणनीति अघि बढाउने बताए ।
‘नागार्जुन रहेका राजालाई नारायणहिटी ल्याउँछौं, हाम्रो ध्येय यही हो, राप्रपाले सके संसद् नसके सडकबाट आन्दोलनमार्फत राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको एजेन्डा अघि बढाउँछ, अबको लक्ष्य जनता आऊ राजा ल्याऊ हो,’ थापाले भने ।
उनले संसद्बाहिर रहेका दलसहितका अन्य शक्तिलाई पनि राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको साझा एजेन्डामा समेट्ने गरी रणनीति लिनेसमेत बताए ।
अध्यक्ष थापाले विगतको निर्वाचनमा प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २ सय २५ निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिँदा राप्रपा कमजोर बनेको स्वीकार गरे । उनले अन्य राजनीतिक दलहरूको आरोहअवरोह पनि देखेको भन्दै राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्नेसमेत दाबी गरे ।
एकता महाधिवेशन भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्ष त्रयमध्येका जबरा र लोहनी भने मैदान बाहिरै रहने निर्णयमा पुगेका छन् । राप्रपाले नयाँ नेतृत्व चयन गर्न आजै प्रक्रिया सुरु गर्दै छ ।
राप्रपा महाधिवेशनमा ४५ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । राप्रपाले यसपटक सिधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व चुन्न लागेको हो ।
राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।
राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।
राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।
जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।
निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।
राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (आठ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित तीन जना (दुई पुरुष एक महिला), कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना (एक महिला एक पुरुष) मुस्लिम तीन जना (दुई पुरुष एक महिला), थारु दुई जना (एक पुरुष एक महिला) र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।
संशोधित विधानलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले पारित गरिसकेको छ भने महाधिवेशनबाट सो संशोधित विधान अनुमोदन गर्ने राप्रपाको तयारी छ ।
राप्रपाको महाधिवेशनमा नेतृत्वको आकांक्षी रहेका नेता राजेन्द्र लिङ्देनले अध्यक्ष कमल थापालाई युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहन आग्रह गरे ।
महाधिवेशन उद्घाटनसत्रमा आफ्नो धारणा राख्दै लिङ्देनले महाधिवेशनमा नउठ्ने घोषणा गरेका अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई धन्यवाद दिँदै अध्यक्ष थापालाई पनि नेतृत्व हस्तान्तरणका लागि समयको पदचाप बुझ्न आग्रह गरे ।
सर्वसम्मत नेतृत्व छानौं : जबरा
राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व छान्नुपर्ने बताएका छन् । महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै जबराले ‘एकता खतरामा पर्छ कि भन्ने डरले आफूले अध्यक्षको उम्मेदवार नबन्ने निर्णय लिएको’ भन्दै सकेसम्म सहमतिबाटै नेतृत्व चुन्न नेतृत्वका आकांक्षी थापा र लिङ्देनलाई आग्रह गरे ।
‘कताकता दुई वर्षअघि भएको एकता खतरामा पर्छ कि भन्ने चिन्ता लाग्यो, त्यसैले म अध्यक्षमा अघि बढ्न चाहिनँ, तपाईहरू पनि सकेसम्म मिल्नुस्, मिलेरै सहमतिबाटै नेतृत्व चयन गरौं, होइन भने निर्वाचनबाट आउने नेतृत्वलाई पनि सबैले स्वीकार्नु पर्छ,’ जबराले भने ।
जनताले राप्रपाको आवश्यकता महसुस गरे : लोहनी
राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताले राप्रपाको आवश्यकता महसुस गर्न थालेको बताएका छन् ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशमा कठिन अवस्था बनेको भन्दै जनताले राप्रपाको आवश्यकता महसुस गर्न थालेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताए ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘हाम्रा दलीय स्वार्थ आआफ्ना ठाउँमा छन् तर राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।
उनले नेपालमा थोरै दल हुनु पनि देशकै हितमा हुने भन्दै तीन टुक्रामा विभाजित राप्रपालाई एक भएर महाधिवेशन गरेको बधाई तथा शुभकामना पनि दिए ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा एमाले हातेमालो गर्न तयार रहेको बताएका छन् ।
राप्रपा महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरेलले विगतमा भएका भएका विषयलाई बिर्सिएर जनताको हित र मुलुकको समृद्धिका लागि राप्रपाका सही मुद्दामा एमालेले हातेमालो गर्ने बताए ।
‘विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प छैन, राप्रपाको सही मुद्दामा एमालेले हातेमालो गर्छ, देशको समृद्धिका पक्षमा एमालेले सबैलाई समथ दिन्छ,’ पोखरेलले भने ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि राप्रपामा जस्तै राष्ट्रवादीपन भएको बताएका छन् । काठमाडौंमा सुरु राप्रपाको एकता महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘राप्रपा र हाम्रो मत त मिल्दैन, म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी तर पनि मभित्र राप्रमा जस्तै राष्ट्रवादीपन छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालले परिर्वतनको गतिबाट पछाडि नफर्कन राप्रपालाई शुभकामना दिए । नेपालले मुलुकमा आएको परिवर्तन पछाडि धकेल्ने गरी अघि नबढ्न सुझाएका हुन् ।