काठमाडौँ - सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको हत्या गरेका छन्। कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन्। नातामा उनीहरु मामा भाञ्जा हुन्। हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले बताए। डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ।
खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ। छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन्। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि प्रहरी टोली घटस्थलमा पुगेको थियो। घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।