आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले बैंक, लघुवित्त लगायतबाट पीडितहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेको आरोप लगाएका छन् । पीडितहरू पूर्व र पश्चिमबाट पैदल हिँडेर काठमाडौंमा संघर्ष गरिरहेको भए पनि उनीहरूको आवास सरकारले सुन्न नचाहेको उनले बताए ।
आजपाको मकवानपुर जिल्ला कमिटीका आज हेटौडामा सम्पन्न प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताए । सरकारले ढिला नगरी छिटै नै पीडितहरूको माग सम्बोधन गर्नुपर्ने माग उनले गरे । साथै काठमाडौंमा पीडितहरूले जारी गरेको आन्दोलनमा आजपाको साथ सहयोग र समर्थन रहेको उनले बताए ।
गौर हत्याकाण्डका सहिद परिवारलाई सोही कार्यक्रमका बिचमा सम्मान गरिएको छ । अध्यक्ष साहले गौर हत्याकाण्डका हत्यारालाई कारबाही गर्नुपर्ने बताउँदै सरकारले हत्यारालाई कारबाही गर्न किन नसकेको र मौन किन बसेको भन्दै प्रश्न समेत गरे ।
अहिलेको व्यवस्था असफल भएको र जनताको शासन व्यवस्थामा पहुँच हुनुपर्ने बताउँदै परिवर्तनका लागि संघर्षमा उत्रिन उनले सहभागीहरूलाई आग्रह गरे । बैंक, वित्तीय संस्थाले लुट मच्चाएको र बढ्दै गएको भ्रष्टाचार, कुशासन लगायतको विरोधमा कडा रुपमा सडक संघर्षमा उत्रिन उनले निर्देशन समेत दिए ।
मकवानपुर जिल्लाको सम्पन्न भेलाबाट युवा नेता शिशिर राजथलाको संयोजकत्व र श्रीनिवास शाह, सुदिप राजथला सहसंयोजक हुने गरी ५१ सदस्यीय आजपाको मकवानपुर जिल्ला कमिटी गठन भएको आजपाका उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन् ।
यसैगरी आजपा निकटको आईटी आर्मीको समेत मकवानपुर जिल्ला कमिटी सोही भेलाबाट सर्वसम्मत गठन भएको छ । युवा नेता पुकार थिंगको संयोजकत्व तथा जयचन्द्र साह, अरुण स्याङ्गतान र राधेश्याम कुशवाहाको सहसंयोजकत्वमा आईटी आर्मीको मकवानपुर जिल्ला ५१ सदस्यीय गठन भएको छ ।