नेपाल नामिबियासँग ८६ रनले पराजित

काठमाडौँ - आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ। नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज बुधवार भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो।

नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा १ सय ८९ रन बनाउँदा अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र अर्जुन साउदले २९ रन बनाएका थिए। नामिबियाका लागि टाङ्गेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले २/२ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ७५ रन बनाएको थियो। नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेलेका थिए। उनले १ सय ११ बलमा १५ चाैका र १ छक्का प्रहार गर्दै १ सय १९ रन बनाएका थिए। यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाएका थिए। बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिएका थिए। यस्तै साेमपाल कामीले २ विकेट लिएका थिए।

यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्डको सहभागिता रहेको छ। यो जितसँगै नामिबिया ३० खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ। नेपाल २३ खेलमा १८ अंकसहित छैटौँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×