कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’– ‘माइण्ड ब्लोइङ’

काठमाडौं । शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शो कार्यक्रमपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै कलाकारहरुले चलचित्रले सामाजिक कथावस्तु बोकेको र कुप्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए । उनीहरुले यस किसिमका चलचित्रहरु सबैले हेर्नुपर्ने बताए ।

कार्यक्रमपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिए। उहाँले चलचित्र चुनौतिपूर्ण विषयमा बनेको र आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतिको विषय भएको बताए ।

त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताए। महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तुहरु फिल्ममा उतारिएको बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीहरुले उठाउनुपर्ने विषय भएको बताइन् । अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको र यस्तो चलचित्र बन्नु नै पर्ने रहेको बताइन्।

अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताइन् । अहिले पनि समाजमा धेरै महिलाहरु यस प्रकारको कुप्रथाबाट पीडित रहेको बताइन् । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताइन्। महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभइ कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्नु नहुने प्रतिक्रिया दिइन्।

चलचित्र बोक्सीको घर शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ । चलचित्रका लेखक एवं निर्देशक सुलक्षण भारती हुनुहुन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बाँस्तोला, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×